नेपाल राष्ट्र बैंक कर्मचारी संघ

देशको केन्द्रीय बैंकको रुपमा रहेको नेपाल राष्ट्र बैंकका स्वाभिमानी कर्मचारीहरु निरंकुश पञ्चायती शासनकालमा समेत आफ्ना पेशागत अधिकारका साथै जनताका प्रजातान्त्रिक अधिकारका पक्षमा असंगठित रुपमा आफ्ना आवाज बुलन्द गर्दै आएको इतिहास छ । देशमा प्रजातन्त्रको पुनर्स्थापना लागि वि.सं. २०४६ सालमा संचालित संयुक्त जनआन्दोलनको समर्थनमा बैंकका कर्मचारीहरुबाट प्रदर्शित ऐक्यबद्धता तत्कालीन परिस्थितिमा एउटा शाहसिक कदम थियो । “एकता नै बल हो” भन्ने उक्तिलाई मनन गर्दै यसै आन्दोलनको गर्भबाट वि.सं. २०४७ साल वैशाख १४ गते यस संघको स्थापना भएको थियो । पेशागत महासंघ नेपाल अन्तर्गत रहेको बैंक बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ (विफू) नेपालमा आवद्ध यस संघका देशभर ११ वटा कार्यालयगत समितिहरु रहेका छन् ।

इतिहासका अनेकौं उकाली, ओराली र घुम्तीहरु मात्र नभएर कठोर कालरात्री पार गर्दै नेपाल राष्ट्र बैंक कर्मचारी संघ आजको यस अवस्थामा आई पुगेको छ । नेपाल निजामति कर्मचारी संगठनद्वारा वि.सं. २०४८ सालमा संचालित आन्दोलनलाई सहयोग र समर्थन गरेको तथा बैंक भित्रका विकृति र विसंगतिका विरुद्धमा सशक्त आवाज उठाए वापत तत्कालीन बैंक व्यवस्थापनबाट संघका केन्द्रीय नेतृत्वमाथि सरुवा, पद घटुवा र निलम्बन हुँदै बर्खास्तिसम्मको कारबाही गरिएको थियो ।

निलम्बित कर्मचारीहरुबाट जीविकोपार्जनका लागि रत्नपार्कमा जुत्ता पसल र स्वाभिमान परिवहन सेवा नामको रात्री बस सेवा सञ्चालन गरिएको थियो । यसै अवस्थामा काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको स्वाभिमान परिवहन सेवाको रात्री बस धादिङको जोगिमारामा दुर्घटना हुँदा निलम्बित कर्मचारी बद्रि प्रसाद अधिकारी र निवृत्त कर्मचारी हरिप्रसाद न्यौपानेको दुःखद् निधन भएको थियो । बर्खास्तीमा पर्नु भएका केही कर्मचारीहरु ३० महिनापछि सर्वोच्च अदालतको आदेशबाट पुनर्बहाली हुनुभयो भने केही कर्मचारीहरु कानुनी उपचारमा सामेल नहुनु भएका कारण पुनर्बहाली हुन सक्नुभएन ।

शहीदका रगतले रंगिएका आफ्ना गौरवमय इतिहासप्रति नतमस्तक हुँदै तथा संस्था र आमकर्मचारीका हक हितका खातिर आफ्ना जागिरको समेत पर्वाह नगरी स्वाभिमानपूर्वक संघर्ष गर्नुहुने आदरणीय अग्रजहरुको पदचापलाई पछ्याउँदै संघ आफ्नो कर्तव्य पथमा सदा अघि बढिरहने छ । सामूहिक स्वार्थका खातिर आफ्नो जीवनको बलिदानी दिनुहुने कर्मचारी शहिद स्व. बद्रिप्रसाद अधिकारी तथा सेवा निवृत्त कर्मचारी स्व. हरिप्रसाद न्यौपानेप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौं । साथै, इतिहासका कठोर कालखण्डमा समेत अनेकौं दुःख र पीडा झेल्दै संघको शाखलाई बचाई राख्नुहुने हाम्रा अग्रजहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै जस्तोसुकै विषम परिस्थितिमा पनि संघको पक्षमा अविचलित रहनुहुने संघका सदस्य शुभेच्छुकहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

राष्ट्रको उच्च स्वाभिमान, जनताका प्रजातान्त्रिक अधिकार, संस्थाको वृहत्तर हित र आम कर्मचारीका पेशागत अधिकारको रक्षाका खातिर यस संघ सदा समर्पित रहने प्रण गर्दछ । साथै, सत्य, समानता र स्वतन्त्रताका पक्षमा अविचलित रहँदै संस्था रहे मात्र कर्मचारी रहन्छन् र कर्मचारी रहे मात्र संघ र यसका गतिविधि संचालन हुन सक्दछ भन्ने तथ्यप्रति समेत संघ सचेत रहने गरेको छ ।

वि.सं. २०६२/२०६३ मा संचालित शाही निरंकुशताका विरुद्धको लोकतान्त्रिक आन्दोलनको अवधिभर संघको नेतृत्वमा देशको केन्द्रीय ढुकुटी ठप्प पारी सो आन्दोलनप्रति देखाइएको ऐक्यबद्धता अन्तर्राष्ट्रिय संचार माध्यममा समेत चर्चाको विषय बनेको थियो । साथै, यस अवधिमा संघद्वारा संचालित पेशागत आन्दोलन मार्फत संस्थागत सुधार तथा कर्मचारीका वृत्ति विकास र समसामयिक आर्थिक वृद्धि जस्ता उल्लेख्य उपलब्धि हासिल गरिएका छन् । यसरी नेपाल राष्ट्र बैंक कर्मचारी संघले देश भित्रको ट्रेड युनियन आन्दोलनको सशक्त नेतृत्व प्रदान गरेको मात्र नभएर निरंकुश शासनका विरुद्धमा संचालित प्रजातान्त्रिक आन्दोलनमा निभाएको भूमिकाका कारण समेत एउटा जिम्मेवार एवं भरोसायोग्य युनियनको रुपमा स्थापित हुन सफल भएको छ । आम पेशाकर्मीका भरोसा र विश्वासलाई कायम राख्दै इतिहासले सुम्पेका हरेक जिम्मेवारीलाई पूरा गर्ने तर्फ संघ सदा समर्पित रहने छ ।